गोरखाका मुख्यमन्त्री पाण्डेले ज्ञानेन्द्र शाहको ‘बुद्धिलाई’ औंल्याउँदै राजतन्त्रको अन्त्यमा आफ्नो भूमिकाको व्याख्या
गोरखा – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहको सहानुभूति देखाउनु आवश्यक नरहेको बताउनुभएको छ। पालुङटार नगरपालिका–९ स्थित खारखोलाको मोटरेबल पुल उद्घाटन कार्यक्रममा बोल्दै उहाँले ज्ञानेन्द्रकै बुद्धिका कारण राजतन्त्र गएको उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री पाण्डेले स्पष्ट गर्नु भनेका छन्, “राजाको अत्याचार बढ्न थालेपछि कांग्रेसले राजतन्त्र र प्रजातन्त्र सँगै जाँदैन रहेछ भन्यो, त्यसैले ०६२/६३ को आन्दोलनमा हामी कांग्रेस, कम्युनिस्ट सबै मिलेर राजा फाल्यौं। उहाँको आफ्नै बुद्धि र कर्मले जानुभएको हो, अहिले हमदर्दी देखाउनुपर्ने कुनै आवश्यकता छैन।”
२०४८ सालभन्दा पहिले दुई सय वर्षसम्म राजा हुदाँ भएका काम र ०४८ पछि २०८१ सम्मको समयमा भएका काम र परिवर्तनबारे मनन गर्न पनि उहाँले सुझाव दिनुभएको छ। “केही भएन भनेर मात्र हुँदैन, यसको तथ्याङ्क पनि केलाउनुपर्छ। केही भएको छैन भनेर अहिले भ्रमित बनाउन खोजिएको छ, यसबाट कोही बिचलित हुनुपर्ने अवस्था छैन,” मुख्यमन्त्री पाण्डेले भन्नुभएको छ।
अहिलेको भन्दा उत्तम व्यवस्था अरु नरहेको भन्दै, त्यसलाई जोगाउन सबै लाग्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो। लोकतन्त्रको रक्षाका लागि सबै दल र जनता एक ठाउँमा उभिन आग्रह गर्दै मुख्यमन्त्री पाण्डेले भन्नुभएको थियो, “लोकतान्त्रिक व्यवस्था अहिले पनि उत्तम छ, त्यसलाई रक्षा गर्न सबैको साझा जिम्मेवारी छ।”
नेपालीहरूले अहिले देशको बारेमा अनावश्यक टिप्पणी गरिरहेकोप्रति मुख्यमन्त्री पाण्डेले चिन्ता व्यक्त गर्नुभएको छ। राम्रो गर्छु भन्ने लागेमा प्रक्रियागत रुपमा चुनाव लडेर नेतृत्वमा आउने सुझाव दिनुभएको छ। “विदेश जानेहरुलाई म के भन्छु भने सक्नुहन्छ मातृभूमि प्रति मेरो कर्तव्य छ भनेर यही केही गर्नुस् सक्नुहुन्न भने बिदेशमा बसेर नेपाललाई गाली नगर्नुस्,” उहाँले भन्नुभएको छ। “हामीभन्दा राम्रो गर्छु भन्ने लाग्छ भने प्रक्रियागत रुपमा आउनुस् अझ राम्रो गर्नुस् तर गरेको कामलाई हुँदै भएन भनेर जनता भड्काउने काम नगर्नुस्।”
मोटरेबल पुलको उद्घाटन कार्यक्रमकै अवसर पारेर निर्माण कम्पनीलाई सम्मान गरिएको थियो। मुख्यमन्त्री पाण्डेले निर्माण कम्पनीका प्रोपराइटर मिलन खड्कालाई प्रशंसापत्रले सम्मान गर्नुभएको थियो। २५ मिटर लम्बाइ र ८.४ मिटर चौडाइ रहेको उक्त पुलको लागत २ करोड ७५ लाख रहेको बताइएको छ।
निर्माण कम्पनीले गत फागुन महिनामै निर्माण कार्य सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीहरूका लागि यो गतिलो पाठ भएको कार्यालय प्रमुख गणेश सुवेदीले बताए। यहाँ त पाँच बर्षसम्म पनि पुल बन्न नसकेका, कति योजनाको सम्झौता खारेज गर्नुपरेका उदाहरणहरु छन्,’ उनले भने।
यस पुलको निर्माण पालुङटार नगरपालिका–९ ढुंगेटारीस्थित खारखोलामा भएको थियो। सात महिना समय अवधि बाँकी छदै सम्पन्न भएको उक्त पुलको मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्। १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत बर्षको चैतमा श्रीगणेश अमृत जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।
यसअघि पनि केही परियोजनाहरुको काम समयमै नहुँदा निर्माण व्यवसायीलाई चेतावनी दिइएको छ। पुलको काम समयमै सम्पन्न भएको भन्दै स्थानीयवासीहरुले सरकारको काम गर्ने क्षमताबारे सकारात्मक टिप्पणी गरेका छन्।
मुख्यमन्त्री पाण्डेले यो पुलको उद्घाटनले पूर्वाधार विकासमा प्रदेश सरकारको ध्यान गएको देखाउने बताउनुभएको छ। उहाँले सबै पूर्वाधार परियोजनाहरुलाई समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।