काठमाडौं, नेपाल – नेपाली चलचित्र ‘शम्बला’ को भव्य प्रिमियर काठमाडौंको छयान मल्टिप्लेक्स, QFX मा आयोजित गरियो। कार्यक्रममा बलिउड स्टार नवाजुद्दीन सिद्दीकी र निर्देशक अनुराग कश्यपको उपस्थिति विशेष आकर्षणको केन्द्र रह्यो।
प्रिमियर समारोहमा चलचित्र निर्देशक मीन बहादुर भाम, प्रमुख कलाकार थिन्ले ल्हामो र सोनम तोप्देन, साथै अन्य अतिथिहरूको पनि सहभागीता रहेको थियो। कार्यक्रमको सुरुवातमा छोटो सम्बोधन गर्दै भारतीय निर्देशक कश्यप र अभिनेता सिद्दीकीले नेपाली चलचित्रको उन्नतिको प्रशंसा गरे। नवाजुद्दीन सिद्दीकीले मीन भामजस्ता कुशल निर्देशकहरूको योगदानले नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको बताएका थिए।
चलचित्र हेरेपछि, सिद्दीकी र कश्यपले संक्षिप्त प्रतिक्रिया दिँदै ‘शम्बला’ को निर्देशनको प्रशंसा गरे। उनले यो चलचित्रले नेपाली सिनेमा उद्योगलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
यस अवसरमा, नेपाली कलाकारहरूको पनि रेड कार्पेटमा व्यापक उपस्थिति रहेको थियो। ‘शम्बला’ आगामी शुक्रबारबाट देशभर प्रदर्शनमा आउने तयारीमा छ। सिद्दीकी र कश्यप सोमबार गोसाइकुण्ड र लाङटाङको यात्रामा जाने योजना बनाइरहेका छन्।