काठमाडौं (Darakh Online) – एन्फा महिला लिग अन्तर्गत आइतबार बागमती युथ क्लब र चन्द्रपुर नगरपालिकाबीच भएको दोस्रो खेल गोलरहित बराबरीमा समाप्त भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर पाए पनि, गोल गर्न असफल रहे। यस प्रकार, बागमती र चन्द्रपुर दुवैलाई एक-एक अंक प्राप्त भएको छ। चन्द्रपुरले ५ खेलमा ४ अंक जोडेको छ भने बागमतीको पनि समान ४ अंक छ।
विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले अपराजित यात्रा कायम राख्दै यो जित हासिल गरेको हो।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा एपीएफका लागि रश्मीकुमारी घिसिङले २ गोल गरेकी थिइन्। हिमा रावत, निशा थोकर, र गीता राणाले १-१ गोल गरे।
खेलको चौथो मिनेटमा निशा थोकरले एपीएफलाई अग्रता दिलाएकी थिइन्। त्यसपछि ११औं मिनेटमा रश्मीकुमारीले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाइन्। २५औं मिनेटमा रश्मीकुमारीले दोस्रो व्यक्तिगत गोल गरिन्।
गीताले ५३औं मिनेटमा पेनाल्टीमा गोल गरेकी थिइन् भने ७७औँ मिनेटमा हिमाले गोल थपिन्। खेलको अन्तिम मिनेटमा कर्णालीका बर्षा ओलीले आत्मघाती गोल गरेपछि एपीएफको जितको दूरी थप फराकिलो बन्यो।
पाँच खेलबाट १३ अंक जोडेको एपीएफ शीर्ष स्थानमा उक्लिएको छ भने दोस्रो स्थानको पुलिसले सोही खेलबाट ११ अंक जोडेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टोली सहभागि रहेका छन्। पहिलो राउण्डमा सबै टिम एकअर्कासँग भिड्दैछन्।
यस लिगले फुटबल प्रेमीहरूलाई रोमाञ्चक खेलको अनुभव दिने अपेक्षा गरिएको छ।