कैलाली, सुदूरपश्चिम – कैलाली जिल्लामा जापानिज इन्सेफलाइटिसको प्रकोपले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। यस साता घोडाघोडी नगरपालिकामा ९ वर्षीय बालक र ६० वर्षीय पुरुषको मृत्यु भएको छ, जसको कारण यस घातक रोग रहेको पुष्टि भएको छ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार गौरीगंगा, गोदावरी, र धनगढी उपमहानगरपालिकामा पनि थप ४ जनामा संक्रमण पाइएको छ। स्वास्थ्य अधिकारीहरूले संक्रमण फैलिन नदिन तत्काल उपायहरू अघि सारेका छन्। प्रभावित क्षेत्रको ५०० मिटरको दायराभित्र एक वर्षभन्दा माथिका सबैलाई खोप लगाउने योजना रहेको निर्देशनालयका निमित्त निर्देशक डा. खगेन्द्र बमले जानकारी दिए।
खोप अभियान र जनचेतनाको विस्तार
डा. बमले भने, “हामीले खोप अभियानलाई तीव्र पार्ने, तत्काल उपचारको व्यवस्था गर्ने र जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं।” स्थानीय विद्यालयहरूमा समेत सचेतनामूलक कार्यक्रम थालिएको छ, जसले गर्दा समुदायमा यस रोगको खतराबारे जानकारी फैलाउन मद्दत पुर्याइरहेको छ।
उनले थपे, “कात्तिक मसान्तसम्म जोखिम कायमै रहन सक्छ, त्यसैले सम्बन्धित सबै निकायले उच्च सतर्कता अपनाउनुपर्छ। हाम्रो ध्यान पहिले डेंगुमा थियो, तर जापानिज इन्सेफलाइटिस अचानक देखा परेकाले नियन्त्रण गर्न चुनौती थपिएको छ।”
लामखुट्टेको टोकाइबाट फैलिने रोग
जापानिज इन्सेफलाइटिस क्युलेक्स लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले टाउको दुखाइ, ज्वरो, र दिमागी समस्या निम्त्याउन सक्छ। स्वास्थ्य निर्देशनालयले यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य केन्द्रमा उपचार गराउन आग्रह गरेको छ।
सचेत र सुरक्षित रहनको लागि अपिल
स्वास्थ्य अधिकारीहरूले लामखुट्टेबाट जोगिन घर वरिपरि पानी जम्न नदिन र लामखुट्टेविरुद्धका उपायहरू अपनाउन अपिल गरेका छन्। “अहिलेको प्रमुख प्राथमिकता भनेको जनताको सुरक्षा हो, र हामीले यसलाई रोकथाम गर्न सबै उपायहरू अवलम्बन गरिरहेका छौं,” डा. बमले भने।
सम्बन्धित: डेंगुबाट जोगिने उपायहरू