काठमाडौं – रानीपोखरी कर्नर टिम (आरसीटी) द्वारा स्थापित अन्नपूर्ण (आरसीटी) सङ्ग्रहालयलाई स्तरोन्नति गरेर मंगलबार पुन: हस्तान्तरण गरिएको छ। यो सङ्ग्रहालय २०७३ सालमा उद्घाटन भएको थियो, र यसलाई काठमाडौं महानगरपालिका वडा नं. २७ को आर्थिक सहयोगमा पुन: निर्माण गरिएको हो।
आरसीटी नेपाली फुटबलको सबैभन्दा पुरानो र सफल क्लबहरूमध्ये एक हो। सङ्ग्रहालयमा क्लबले जितेका सयौं ऐतिहासिक ट्रफी, पदक, फोटोहरू र जर्सीहरू प्रदर्शित गरिएका छन्। यद्यपि, फुटबल मात्रै नभई एथलेटिक्स, भलिबल, पौडी लगायत अन्य खेलमा पनि आरसीटीले प्राप्त गरेका पदकहरू सङ्ग्रहमा समावेश छन्।
क्लबका अध्यक्ष सुरेशकाजी शाक्यका अनुसार, यो सङ्ग्रहालय नेपाली खेलकुद क्षेत्रमा नयाँ अवधारणाको रूपमा स्थापित भएको छ, र भविष्यमा यसको अझै विस्तार गर्ने योजना छ। उनले यस स्तरोन्नतिको लागि लगभग १२ लाख रुपैयाँ खर्च भइसकेको जानकारी पनि दिए।
वडा नं. २७ का अध्यक्ष तथा आरसीटीका संरक्षक योगेशकुमार खड्गीले पनि फुटबललाई जीवित राख्ने र स्थानीय खेलाडीलाई प्रोत्साहन दिने उद्देश्यले सङ्ग्रहालयलाई पुन: सक्रिय बनाइएको बताए। “हामीले स्थानीय खेलाडीलाई सहभागिता गराउने र आरसीटीको फुटबल यात्रालाई निरन्तरता दिने योजना बनाएका छौं,” उनले भने।
सङ्ग्रहालयका संयोजक नरेश वैद्यले यस सङ्ग्रहालयको महत्वबारे चर्चा गर्दै भने, “सङ्ग्रहालयको क्षेत्रफल सानो भए पनि यहाँ राखिएका सामग्रीहरू अत्यन्तै बहुमूल्य र गर्वका विषय हुन्।” उनले आरसीटीको ऐतिहासिक उपलब्धिहरूलाई संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय खोलिएको स्पष्ट पारे।
आरसीटी क्लबले अहिलेसम्म छ पटक शीर्ष लिग च्याम्पियन बन्ने सफलता हासिल गरेको छ। मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसीटीभन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ।